“Free Health Awareness Program for Our Community”

गोरखा नेप्लिज वेल्फेयर सोसाइटी, युके र युके मगर संघ, वेम्ब्ली मिडलसेक्स शाखा तथा मगर महिला संघ, वेम्ब्ली ब्रान्चको आयोजनामा नेप्लिज डाक्टर एशोसिएशन, युके र नेप्लिज नर्सिङ्ग एशोसिएशन, युके द्वारा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न।

मिति ०४ अप्रिल २०२६ शनिवारको दिन लन्डनको साउथ हेरो स्थित ह्यारो बोरो फुटबल क्लबको सभाहलमा बिहानको लगभग १० बजे देखि नै कार्य समितिका सदस्यहरु उपस्थित हुन थालेको देखिन्थ्यो किनभने उक्त दिन गोरखा नेप्लिज वेल्फेयर सोसाइटी, युके र युके मगर संघ, वेम्ब्ली मिडलसेक्स शाखा तथा मगर महिला संघ, वेम्ब्ली ब्रान्चको आयोजनामा संस्थाका विशेष ज्येष्ठ नागरिक सदस्यज्युहरु तथा उहाका परिवारहरुलाई नेप्लिज डाक्टर एशोसिएशन, युके र नेप्लिज नर्सिङ्ग एशोसिएशन, युके द्वारा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य जनचेतनाको कार्यक्रमको व्यवस्थापन गरिएको थियो।बिस्तारै सभाहल भित्र सबैको उपस्थिति देखिन थाले, कार्यकर्ताहरु आआफ्ना काममा व्यस्त देखिन्थे। हलको प्रवेश द्वारमा नै उपस्थित हुनेहरुको नाम दर्ता गर्नको लागि तीनजना कार्यकर्ताहरु खट्टिएका थिए। नाम दर्ता गर्दै उनीहरुको हातमा एउटा लिस्ट पनि उनीहरुले दिएका थिए जुन उनीहरुको ब्लड टेस्ट, सुगर टेस्ट, हाइट एवं वेट मापनको रेकर्ड राकिने थियो सबैजनाले आ-आफ्नो भूमिका शिष्टाचार रुपमा निभाई रहेको देखिन्थ्यो।

बिहानको लगभग ११ बजे तिर प्राय हल भरिसकेको थियो। यसका साथै कार्यक्रममा चिया खाजाको पनि व्यवस्था गरिएको हुनाले उपस्थित सबैले आनन्द लिइरहेको थियो। ठिक ११:१५ बजे तिर गोरखा नेप्लिज वेल्फेयर सोसाइटी, युकेकी महासचिव बिमला कुमारी राईज्युले हेल्थ एण्ड सेफ्टि बारेमा जानकारी दिदै कार्यक्रम शुरु गर्नु भयो साथै उक्त कार्यक्रमको उद्देश्य बारे केहि छोटो जानकारी दिनु भयो। त्यसैगरी युके मगर संघ, वेम्ली मिडलसेक्स शाखाका अध्यक्ष श्री भिम बहादुर राना मगरज्युले मन्तब्य बाट कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो। यसका साथै समयको महत्त्वलाई ध्यानमा राख्दै युके नेप्लिज नर्सिङ्ग एशोसिएशन, युकेकी अध्यक्ष श्री रस्मिता दर्लामिज्युले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य जनचेतना कार्यक्रमको बारेमा संक्षिप्त रुपमा जानकारी दिदै कार्यक्रम संचालन गर्नु भएको थियो।
सर्वप्रथम, डाक्टर सर्गम शर्माज्युले डिलिरियम र डिमेन्सियाबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो। यी दुई अवस्था बाहिरबाट हेर्दा मिल्दोजुल्दो देखिए पनि वास्तवमा फरक हुन्छन्। डिलिरियम अचानक सुरु हुने र प्रायः अस्थायी समस्या हो, जसको समयमै उपचार गरेमा करिब ९०% सम्म निको हुन सक्छ। तर डिमेन्सिया भने दीर्घकालीन (chronic) अवस्था हो र हालसम्म यसको पूर्ण उपचार सम्भव छैन त्यसैले डिमेन्सियाका लक्षणहरू (जस्तै: बिर्सने, व्यवहार परिवर्तन, निर्णय गर्न गाह्रो हुने) देखिने बित्तिकै डाक्टरसँग जाँच गराउनु अत्यन्त आवश्यक हुन्छ। साथै, वेबसाइटमा गएर MoCA (Montreal Cognitive Assessment) जाँच पनि खोलेर डिमेन्सियाबारे प्रारम्भिक जानकारी लिन सकिन्छ।

यसैगरी, डाक्टर राजेन्द्र थापाज्युले लोवर ब्याक पेन (कम्मर दुखाइ) को बारेमा स्पष्ट रूपमा जानकारी दिनुभएको थियो। कम्मर दुखाइ सामान्य समस्या भए पनि यसलाई बेवास्ता गर्नु हुँदैन। उहाँले विशेष गरी दैनिक काम गर्दा अपनाउनुपर्ने सही तरिकाबारे जोड दिनुभएको थियो। जस्तै:
• सामान उठाउँदा ढाड नझुकाई घुँडा मोडेर उठाउने।
• भारी वस्तु शरीर नजिक राखेर बोक्ने।
• लामो समय बस्दा वा उभिँदा बीच-बीचमा विश्राम लिने।
यसका साथै, नियमित रूपमा हल्का एक्सरसाइज (stretching र strengthening) गर्दा कम्मर दुखाइ कम गर्न मद्दत हुन्छ भन्ने कुरा पनि उहाँले बताउनुभयो तर यदि दुखाइ धेरै बढ्दै गयो, लामो समयसम्म रहिरह्यो, वा खुट्टातिर सर्ने जस्ता लक्षण देखिए भने तुरुन्त GP (डाक्टर) सँग सम्पर्क गरेर विशेषज्ञ सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ।
भिडियोमार्फत NHS अपोइन्टमेन्ट कसरी लिन सकिन्छ भन्ने बारेमा पनि जानकारी दिइएको थियो। विशेष गरी अंग्रेजी राम्रोसँग नजान्ने नेपाली बुढाबुढीहरूले कसरी सजिलै सेवा लिन सक्छन् भन्ने कुरा राम्रोसँग बुझाइएको थियो।
मुख्य कुरा यसप्रकार छन्:
• आफ्नो GP (डाक्टरको क्लिनिक) मा फोन गरेर अपोइन्टमेन्ट लिन सकिन्छ।
• आवश्यक परेमा परिवारका सदस्य वा चिनेजानेका व्यक्तिको सहयोग लिन सकिन्छ।
• NHS Interpreter Service प्रयोग गरेर नेपाली भाषामा अनुवाद सेवा पनि पाइन्छ
• GP सर्जरीमा गएर प्रत्यक्ष रूपमा पनि अपोइन्टमेन्ट लिन सकिन्छ यसले गर्दा अंग्रेजी नजान्ने व्यक्तिहरूले पनि बिना डर स्वास्थ्य सेवा लिन सक्छन्। सही जानकारी पाएपछि उनीहरूलाई धेरै सहज हुन्छ।

यसैगरी, डाक्टर आरती थापा (अध्यक्ष – नेप्लिज डाक्टर एशोसिएशन, युके) ज्युले महिलाहरूमा हुने मेनोपोज (महिनावारी बन्द हुने अवस्था) का बारेमा सरल र बुझिने तरिकाले जानकारी दिनुभएको थियो। Menopause एक प्राकृतिक प्रक्रिया हो, जसमा महिलाको शरीरमा हार्मोनल परिवर्तन हुन्छ।मेनोपोज हुँदा देखिन सक्ने केही सामान्य लक्षणहरू:
• तातो-तातो महसुस हुने (hot flushes)
• धेरै पसिना आउने
• मुड परिवर्तन हुने
• निद्रामा समस्या हुने
• थकान वा चिडचिडापन
उहाँले विशेष रूपमा जोड दिनुभएको कुरा के थियो भने—यी लक्षणहरू देखिँदा आत्तिनु हुँदैन, किनकि यो प्राकृतिक अवस्था हो साथै, यदि लक्षणहरूले दैनिक जीवनमा असर पार्न थाले भने NHS अन्तर्गतको GP (डाक्टर) सँग गएर सल्लाह लिन सकिन्छ। GP ले आवश्यक परेमा उपचार, औषधि वा अन्य सहयोग (जस्तै: lifestyle advice, HRT आदि) उपलब्ध गराउन सक्छन्।

यसैगरी, डेन्टिस्ट बिनु लामे छानेज्यूले “Looking after your teeth and mouth health” विषयमा छोटो र स्पष्ट जानकारी दिनुभएको थियो। उहाँले दैनिक रूपमा दाँतको राम्रो हेरचाह गर्नु कत्तिको आवश्यक छ भन्ने कुरामा जोड दिनुभयो। जस्तै:
• दिनमा कम्तीमा दुई पटक दाँत माज्नुपर्छ।
• खाना खाएपछि करिब २० मिनेटपछि दाँत माज्नु राम्रो हुन्छ।
• सही तरिकाले र राम्रोसँग ब्रस गर्नुपर्छ।
• मुखको सरसफाइले धेरै रोगहरूबाट बचाउँछ।
यसका साथै, डेन्टल सेवा पनि NHS अन्तर्गत उपलब्ध हुने कुरा जानकारी दिइएको थियो। NHS Dental Services मार्फत मानिसहरूले नियमित चेकअप, उपचार र सल्लाह लिन सक्छन्। यसरी नियमित रूपमा दाँतको हेरचाह गर्ने र आवश्यक पर्दा डेन्टिस्टसँग जाँच गराउने बानी बसाल्नु निकै फाइदाजनक हुन्छ जानकारी दिनुभएको थियो।

यसैगरी, डाक्टर बिबेचन थापाज्युले पुरुष सम्बन्धि स्वास्थ्य (men’s health), विशेष गरी Bowel Cancer र Prostate Cancer बारेमा जानकारी दिनुभएको थियो।उहाँले बताउनुभएको मुख्य कुराहरू:
• Prostate सम्बन्धी समस्या पुरुषहरूमा मात्र हुने गर्दछ, किनकि prostate ग्रन्थि पुरुषको शरीरमा मात्र हुन्छ।
• Bowel (colorectal) cancer भने आन्द्रामा हुने क्यान्सर हो।
• यसको जाँचका लागि Colonoscopy गरिन्छ, जसमा मलद्वारबाट सानो पाइप (क्यामेरा) हालेर आन्द्रा भित्रको अवस्था हेर्ने गरिन्छ।
• NHS ले सामान्यतया ५०/६० वर्षपछि (UK मा कार्यक्रम अनुसार फरक हुन सक्छ) नियमित रूपमा bowel cancer screening को लागि पत्र पठाउँछ।
• प्रायः २–२ वर्षमा जाँच गरिन्छ
• करिब ७५ वर्षपछि नियमित स्क्रिनिङ बन्द हुन सक्छ तर महत्वपूर्ण कुरा के हो भने:
यदि ७५ वर्षपछि पनि कुनै लक्षणहरू (जस्तै: दिसामा रगत देखिनु, पेट दुख्नु, तौल घट्नु आदि) देखिए भने तुरुन्त GP (डाक्टर) लाई सम्पर्क गर्नुपर्छ आवश्यक परेमा फेरि जाँच (जस्तै colonoscopy) गर्ने व्यवस्था मिलाइन्छ यसरी समयमै जाँच र सचेतनाले यी क्यान्सरहरूलाई चाँडै पत्ता लगाउन र उपचार गर्न धेरै मद्दत गर्छ।

यसैगरी, डाक्टर अप्सरा सन्जेलज्यूले CPR (प्राथमिक जीवनरक्षक उपचार) ले आपतकालीन अवस्थामा कसैको ज्यानसमेत बचाउन सक्छ भन्ने बारेमा जानकारी दिनुभएको थियो अचानक दुर्घटना, लड्ने, वा मुटु चल्न बन्द भएको जस्तो अवस्थामा के गर्ने भन्ने बारेमा स्पष्ट जानकारी दिनुभएको थियो, साथै प्र्याक्टिकल रूपमा पनि देखाउनुभएको थियो।मुख्य कुराहरू यसप्रकार छन्:
१. अवस्था जाँच्ने (Check response):
• व्यक्ति सचेत छ कि छैन हेर्ने (बोलाएर वा हल्का हल्लाएर)।
२. सहयोग बोलाउने (Call for help):
• तुरुन्तै आपतकालीन सेवा (UK मा 999) मा फोन गर्ने।
• अरूलाई पनि सहयोगका लागि बोलाउने।
३. सास जाँच्ने (Check breathing):
• सास चलिरहेको छ कि छैन हेर्ने।
४. CPR सुरु गर्ने:
• यदि सास छैन भने छातीको बीचमा हात राखेर जोर-जोरले दबाउने (chest compressions)।
• सामान्यतया ३० पटक दबाउने र २ पटक सास दिने (यदि प्रशिक्षण भएको छ भने)।
५. जारी राख्ने:
• एम्बुलेन्स नआएसम्म वा व्यक्ति सचेत नहुन्जेल CPR जारी राख्ने। यसले देखाउँछ कि सही समयमा सही तरिकाले CPR गरेमा जीवन बचाउन सकिन्छ। त्यसैले यस्ता सीपहरू सिक्नु र अभ्यास गर्नु धेरै आवश्यक हुन्छ।

त्यसपछि करिब आधा घण्टाको लन्च ब्रेक राखिएको थियो, जहाँ सबै सहभागीहरूका लागि खानाको राम्रो व्यवस्था गरिएको थियो। सबैजना लाइनमा बसेर आरामसँग खाना खान थाले। स्वास्थ्यसम्बन्धी उपयोगी जानकारी पाएपछि सहभागीहरू उत्साहित र खुसी देखिन्थे।

लन्च पछि फेरि कार्यक्रम सुरु भयो, जहाँ हेल्थ स्क्रिनिङ (व्यवहारिक जाँच) सञ्चालन गरिएको थियो। विभिन्न रोगसम्बन्धी डाक्टरहरू आफ्ना-आफ्ना टेबलमा बसेर सहभागीहरूलाई परामर्श दिइरहेका थिए। सहभागीहरूले आफ्नो समस्या अनुसार—जस्तै खुट्टा दुख्ने, पेट दुख्ने वा अन्य स्वास्थ्य समस्या डाक्टरसँग सिधै गएर सल्लाह लिइरहेका थिए। यस स्क्रिनिङका लागि करिब एक घण्टाको समय दिइएको थियो, र त्यो समयभरि सबैजना आफ्ना जिज्ञासा सोध्नमा व्यस्त देखिन्थे। सहभागीहरूको अनुहारमा मुस्कान, सन्तुष्टि र खुशी स्पष्ट देखिन्थ्यो। कार्यक्रमले सबैमा सकारात्मक प्रभाव पारेको महसुस हुन्थ्यो, र यस्ता कार्यक्रमहरू अझै धेरै हुन पाए राम्रो हुने भन्ने चाहना पनि सबैमा देखिन्थ्यो।

कार्यक्रमको अन्त्यमा गोरखा नेप्लिज वेल्फेयर सोसाइटी, युके का अध्यक्ष श्री गन्ज आलेज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विशेष रूपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुहुने Nepalese Doctors Association UK र Nepalese Nursing Association UK प्रति गहिरो आभार व्यक्त गर्नुभयो। त्यसैगरी, कार्यक्रममा सहभागी सबैजनाले पनि यस्तो महत्वपूर्ण निःशुल्क सेवा उपलब्ध गराइएकोमा ताली बजाएर धन्यवाद प्रकट गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने खाना व्यवस्थापन गर्नु हुने मगर महिला संघ, वेम्ली ब्रान्चका समितिका सदस्यहरु साथै अन्य सम्पूर्ण व्यवस्थापनमा खटिएका सबै महानुभावहरुलाई पनि अध्यक्षज्यूले धन्यवाद दिनुभयो। अन्त्यमा, कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई कृतज्ञता व्यक्त गर्दै उहाँले कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभयो।

कार्यक्रमको शीर्षक “Free Health Awareness Program for Our Community” रहेको थियो। यो कार्यक्रम UK Magar Association Wembley Branch, Mahila Magar Sangh Wembley Branch र Gurkha Nepalese Welfare Society, UK को आयोजनामा सम्पन्न भएको थियो। साथै Nepalese Doctors Association UK र Nepalese Nursing Association UK को सहकार्य (collaboration) मा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।

कार्यक्रम एकदमै भद्र, शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। बिहानदेखि बेलुकीसम्म कार्यक्रम चले पनि समय बितेको थाहै भएन। सहभागीहरू शान्त वातावरणमा ध्यानपूर्वक सबै प्रस्तुति सुन्दै थिए। यस कार्यक्रमले स्वास्थ्यप्रति हामीले दिनुपर्ने ध्यानबारे धेरै महत्वपूर्ण जानकारी प्रदान गर्‍यो। हामी प्रायः आर्थिक पक्षमा बढी ध्यान दिन्छौं, तर “स्वास्थ्य नै धन हो” भन्ने सन्देश यस कार्यक्रमले स्पष्ट रूपमा दिएको थियो। स्वास्थ्य राम्रो भए मात्र जीवनका अन्य सबै पक्षहरू सहज हुन्छन् भन्ने कुरा सबैले अनुभूति गरेका थिए। व्यक्तिगत रूपमा पनि यो कार्यक्रम निकै शिक्षाप्रद र प्रभावकारी लागेको छ। यस्ता जनचेतनामूलक कार्यक्रमहरू वर्षमा एक पटक मात्र नभई सम्भव भए दुई पटक वा अझ बढी आयोजना गर्न सकिए समुदायमा स्वास्थ्यसम्बन्धी चेतना अझै बढ्ने देखिन्छ।

अन्त्यमा, यी तीन संस्थाहरू मिलेर जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेझैं, अन्य संस्थाहरूले पनि आपसी सहकार्य गरेर यस्ता कार्यक्रमहरू विभिन्न स्थानमा सञ्चालन गर्नुपर्छ भन्ने मेरो धारणा छ। यसरी निरन्तर रूपमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू आयोजना गर्दा समुदायमा अझ धेरै मानिसहरू लाभान्वित हुनेछन् र स्वास्थ्यप्रतिको बुझाइ पनि बढ्दै जानेछ।

धन्यवाद,
बिमला कुमारी राई
महासचिव and
गोर्खा नेप्लिज वेल्फेयर सोसाइटी, युके।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*