Visit to National Memorial Arboretum on 28 July 2022

नेशनल मेमोरियल आरबोरेटम – एकदिवसीय भ्रमण

मानिसलाई स्वस्थ्य जीवन बाँच्नको निम्ति शारीरिक सुस्वास्थ संगै मानसिक सुस्वास्थको पनि उतिकै महत्वपूर्ण भुमिका हुने गर्दछ । शायद यही वास्तविकतालाई आत्मसात गर्दै गत् २८ जुलाई २०२२ को दिन गोर्खा नेप्लिज वेलफ़ेयर सोसायटी, युकेले लण्डन बसोबास गर्नु हुने हाम्रा भुपु गोर्खा एवंम् गैर भुपु जेष्ठ नागरिकहरूलाई ‘ नेशनल मेमोरियल आरबोरेटम ‘ को एक दिवसीय भ्रमण आयोजना गर्ने विषयमा जानकारी भयो र सहभागी हुने अवसर प्राप्त भयो ।

खाजा सामलको व्यवस्था भ्रमणकर्ता स्वयंले गर्नु पर्ने सुचना थियो । यद्दपि, पिउने पानीको लागी श्री मोहन चाम्लिँग राईज्युको तर्फबाट स्पोन्सर भएको रहेछ । पुर्व सुचना अनुसार लगभग बिहानीको १० बजे सम्म नर्थहोल्ट बस पार्कमा हामी सबै सहभागीहरू जम्मा भैसक्यौं । दुईवटा कोच बसको व्यवस्था रहेछ । उक्त कोचहरू आईपुग्न थोरै ढ़िला भएनि लगभग १०:४५ सम्ममा हामी सम्पुर्ण भ्रमणकर्ताहरू लाई बोकेर उक्त कोचबस निर्दिष्ट स्थानको लागी प्रस्थान गर्यो । कोचबस आरामदायी रैछ ।

उक्त दिनमा हामी लगभग १०० जनाको हाराहारीमा थियौं होला ड्राईभर लगायत । अर्को कोचबसको ड्राईभर साब त के कस्ता थिए ? तर म चढ़ेको ड्राईभर साईमन त निकै रौसाउने र हौसाउने खालका रैछन । बाटोभरी बल्ले ! बल्ले ! गर्दै यात्रुहरूसंग ख्याल ठट्टा गर्दै तर सतर्कताका साथ कोचबस हाँकी रहे । मेरो सिट अलिक पछाड़ी परेता पनि झ्याल चैं ठुलो र सिटपनि झ्यालपट्टि भएकोले खुशी लाग्यो बाहिरको दृश्यहरू मज्जाले हेर्दै यात्रा गर्न पाउने भइयो भन्ने विचारले मन फुरूँग भयो । यस भ्रमणलाई एक दिवसीय आन्तरिक पर्यटन भन्दा अतिशयोक्ति नहोला ।
यद्दपि यो एक दिवसीय भ्रमण कार्यक्रम विशेष उत्साहजनक रहेको ठान्नु पर्छ किन भने यो कार्यक्रम जेष्ठ नागरिकप्रति लक्षित भएतापनि हाम्रो समुहभित्र ८२ वर्षीय आमाबाबा लगायत ५-७ वर्ष सम्मका नानीहरूको पनि सहभागिता रहेको रैछ । विष्णु गुरूँग बैनीको सानी नातिनीको साथपनि खुबै आनन्ददायी रह्यो ।

कोच बाहिर दृश्य अत्यन्तै रमणीय रहेको , कतै मकै बाली त कतै सुर्यमुखी फुलको बाली लहलह देखिन्थ्यो भने कतै बालीनाली काटिसकेको रित्तो खेतहरूमा गाई र भेंड़ाहरू चर्दै गरेको दृश्यावली अत्यन्तै सुखद देखिन्थ्यो । कोचबसमा यात्रा शुरू गरेको लगभग डेढ़ घण्टापछि ‘ सिल्भरस्टोन ‘ भन्ने यात्रुविश्राम गर्ने ठुलो रेस्टोरेन्टमा हाम्रा कोचहरू केही मिनटका लागी अडिए । हामी सबै हल्का हुन उक्त रेस्टोरेन्टको ट्वाइलेट तिर लम्कियौं । तत्पश्चात् पुन: हाम्रो आजको गन्तव्य तिर दुवै कोचबस रवाना भए । लगभग दिनको १:०५ सम्ममा हामी बर्मिंघम शहर छोडी सकेको रैछौं । यो शहर लण्डनपछिको दोस्रो ठुलो र औद्योगिक शहरको रूपमा परिचित रहेछ । अब ठुला-ठुला एयरफैनहरू देखिन थाले जो हावाको वेगसंगै घुमीघुमी बिजुली उत्पादन गर्दा रैछन । बाहिरको दृश्य हेर्दाहेर्दै बिडफुडको ठुलो लरीसंगै हाम्रो कोचबस अगाडी-पिछाडी हुँदै बाटोछेउको होर्डिंग बोर्डले नेशनल मेमोरियल आरबोरेटमको संकेत गरेतर्फ हाम्रो कोचबस मोड़ियो । बर्टन र टमवर्थ हुँदै हाम्रो दुवै कोचबस लगभग १:४० तिर हाम्रो भ्रमण स्थलमा पुग्यो ।

बाहिरी रूपमा नेशनल मेमोरियल आरबोरेटम सामान्य जस्तो देखिएपनि भित्र पसिसके पछि यसको विशालता थाहा पाइने रैछ । यो मेमोरियल आरबोरेटम निकै ठुलो एरियामा फैलिएको रहेछ । हामी घरबाट निस्केको झण्डै ४ घन्टा भैसकेको र अलिअलि भोक लागीसकेको अवस्थाले पहिला खाजा खाने निधो गरियो र सम्पुर्ण भ्रमणकर्ताहरू आआफ्नो अनुकूलतानुसार समूह बनाएर खाजा पानी खान थाल्यौं । यस क्रममा म भाग्यशाली रहेछु । आफु त केवल बिस्कुट बोकेको दिदी बहिनीहरूले त सेलरोटी , अचार , पुरी , तरकारी, कुखुराको मासु आदि-इत्यादि बोक्नु भएको रैछ मेरो त दशैं नै पल्ट्यो । यसका लागी धेरै धेरै धन्यवाद इन्दु आले दिदी , शकुन दिदी लगायत सम्पुर्ण दिदी बहिनीहरूलाई ।

खाजा पानी सकेपछि उक्त ठाँऊ घुम्नकालागी हामीसंग दुई विकल्प रहेछ । पैदल घुमेर हेर्ने अथवा सानो रेलगाड़ी जस्तो बोगीहरू भएको बस । हामी अधिकांश रेलगाड़ीमै सवारी गर्ने विचार बनायौं । संस्थाका अध्यक्ष श्री गंज आलेज्यु लगायत केही दाजुभाई जनही £१० जम्मा गरी टिकट लिन काउंटर तिर दगुर्नु भयो । एवंम् प्रकारले हामीलाई बोकी रेलगाडी विस्तारै गुड्न थाल्यो । यद्दपि केही दाजुभाईहरू पैदलै हिड़नु भयो ।

रेल विस्तारै गुड्न आरम्भ हुनासाथ बाटोको दायाँ बायाँ दुवैतिर स्थित आर्मीको सम्मान र सम्झनामा बनाइएको स्मृतिस्तम्भहरू नियाल्दै अगाड़ी बढ़ि रह्यौं साथै उक्त स्मृतिस्तम्भको विषयमा रेलभित्रै रहेको अडियोले हामीलाई जानकारी प्रदान गरी रह्यो । लगभग २५ एकड़को क्षेत्रफलमा फैलिएको उक्त आरबोरेटम रोयल ब्रिटिस लियाजनद्वारा १७ मे २००१मा निर्माण भएको र लगभग ४०० जति कलाकृति र स्मारक निर्माण गरिएको रहेछ । बेलायतको लागी आफ्नो अमुल्य सेवा दिंदै अहोरात्र खटिने र सहादत्त दिने थलसेना , जलसेना , वायुसेना लगायत उनीहरूलाई सहयोग गर्ने चिकित्सक, नर्सेज र सबैखाले टेक्निकल टिमहरूको सम्झना र सम्मानमा ठडाइएको ति स्मारकहरूलाई नियाल्दै मन प्रफुल्लित भै रह्यो । बाटोको दुवैतिर हरियालीपनि उत्तिकै , सयौं प्रजातिका बोटबिरूवाहरू व्यवस्थित ढ़ंगले रोपिएको र हुर्काइएको रैछ । पैदल यात्रुहरूलाई थकाई मार्न ठाँउ ठाँउमा सम्बंधित व्यक्तिहरूको नाममा बेन्चहरूपनि बनाइएका रहेछन ।

लगभग ४५ मिनटको रेलयात्राले त्यो विशाल मेमोरियल आरबोरेटमको भ्रमण सम्पन्न गरि सक्दा दुइवटा स्मारकले मेरो मन धेरै छोयो । एक त, ब्रिगेड अफ गोर्खाजको सम्मानमापनि एक स्मारक हुनुले हाम्रा पुर्खादेखी आजसम्म गरी ल्याको सेवा, ईमानदारीता र बहादुरीको कदर भएको महशुस भयो । दोस्रो मा , उक्त आरबोरेटम भ्रमणलाई बीट मार्ने बेलामा सबै भन्दा शिर्षस्थानमा स्थापित ‘ आर्म्ड फोर्सेज मेमोरियल ‘ । उक्त आर्म्ड फोर्सेज मेमोरियल पुग्नका लागी रेलगाड़ीबाट ओर्लेर लगभग ४० वटा खुड्किलाहरू उक्लिनु पर्दो रैछ । उक्त स्थलमा पुगी सकेपछिको दृश्यावलीको विशालतालाई देखेर नि:शब्द भएँ । त्यो आर्म्ड फोर्सेज मेमोरियल स्मारकको दुवैपट्टि दुई अर्ध चन्द्राकार अग्लो सेता भित्ताहरू र दुवै भित्ताहरूको बीचमा दुई सिधा सपाट अग्लो भित्ताहरू ठडाईएका रहेछन । उक्त सिधा भित्ताहरूको आडैमा विभिन्न भाव-भंगिमाका ( युद्ध र युद्धमा घाइतेहरूलाई सेवा पुर्याई रहेको भानहुने ) मानव मुर्तिहरू । दुवै पट्टिका अर्ध चन्द्राकार भित्ताहरूमा द्वितीय विश्वयुद्ध ताका बेलायतको पक्षमा रहेर लड़ेका र सहादत्त भएका योद्धाहरूको नाम, थर र आर्मी नंम्बर समेत कुंदिएको रैछ लगभग १५००० नामावलीहरू कुंदिएको र यस्तै गरी थप १५००० नामावली अंकित गर्न सकिने गरि भित्ता खाली रहेको थियो । खास कुरा , हाम्रा अग्रज पुर्खाहरूको नाम, थर र नंबर समेत कुंदिएको हेर्न र पढ़न पाउँदा ति अन्जान शहिद पुर्खाहरू प्रति श्रद्धाले सिर निहुराइ श्रद्धांजलि दिएँ । एक अर्को विशेषताले हामी सबैको ध्यान आर्कषण गर्यो त्यो के भने उक्त स्मारकको दाहिने तर्फको सिधा भित्ताको बीचमा लगभग १ फुट जतिको ग्याप जस्तो रहेछ र उक्त ग्यापबाट वर्षको ११ औं महिना , ११ तारिकको ११:०० बजेको समयमा सुर्यको किरण त्यो ग्यापबाट स्मारकको ठिक मध्यभागमा पर्ने गर्छ भन्ने विवरण उल्लेख रहेछ । गज्जब लाग्यो र निर्माण गर्ने इन्जीनियरहरूको कल्पनाशीलताप्रति नतमस्तक ।

 

एवंम् प्रकारले उक्त आरबोरेटमको सेरोफेरो घुम्दा घुम्दै तीन धण्टा बीतेको पत्तै पाइएन । साँझको ठिक पाँच बजे उक्त आरबोरेटम बन्द हुने भएकोले हामीसबै तस्विर लिने र टिकटक बनाउने रहर पुरा हुँदा नहुँदै त्याहाँबाट विदा लिने बेला भैसकेछ । हतार-हतार सम्झना स्वरूप बिमला राई दिदीको सल्लाह सुझावमा केही सोभिनियर किनमेल गरियो र आ-आफ्नो कोचबस तिर लम्कियौं ।

मन भरी आनन्द, उत्साह र स्फुर्ति बटुलेर नेशनल मेमोरियल आरबोरेटम छोड़दा आयोजक गोर्खा नेप्लिज वेलफेयर सोसाइटी युकेलाई मनभरी धन्यवाद दिंदै भविष्यमा पनि यस प्रकारको अवलोकन भ्रमण आयोजन गर्न सकोस भन्ने कामनाका साथै कोचबसको सिटमा विराजमान भइयो तर अफसोस कि मेरो त्यो प्यारो सिटलाई अर्कै एकजोडीले कभर गरी सक्नु भएको रैछ ! खैर केही छैन आउँदा खेरी बाहिरको दृश्य हेर्न मलाई उक्त झ्यालले जस्तो आनन्द दियो अब उनीहरूपनि आनन्द उठाउन सकुन भन्ने कामनाका साथ झन पछाड़ीको सिटमा थ्याच बसे । कोचबस हिंडदा साँझको ५:१० भैसकेको थियो र तापक्रम २४* ।

✒️ डा. सुमाया राई
साउथ ह्यारो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*